मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने क्रममा जनमत पार्टीले प्रदर्शन गरेको छ।
प्रदेश सरकारको उपलब्धि सार्वजनिक भइरहेकै ठाउँमा जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला सांस्कृति भवनभित्र पसेर जनमत पार्टीका नेता कार्यकर्ताहरुले मधेस प्रदेश सरकार विरुद्ध प्रदर्शन गरेको हो।
पार्टी सचिव बीपी साहको नेतृत्वमा गएको समूहले प्रदेश सरकारले गरेको विभिन्न भ्रष्टाचार काण्डहरुको छानबिन गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
जनमत पार्टीका नेता कार्यकर्ताले सरकार विरुद्ध प्रदर्शशन गरिरहँदा उक्त पार्टीबाटै मन्त्री रहेका महेश यादव र चन्दन सिंह समेत मञ्चमै बसेका थिए।
तत्कालीन समयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सामुदायिक विद्यालयका छात्रालाई वितरण गरेको साइकल खरिदमा भएको भ्रष्टाचारको सम्बन्धमा छानबिन गर्नुपर्ने माग गरेका छन्।
त्यसैगरी मुख्यमन्त्री स्वच्छता अभियानको झण्डै १ अर्ब २८ करोड बजेटमा अनियमितता भएको भन्दै त्यसको समेत छानविन गरी दोषीलाई कारबाही अघि बढाउन पनि जनमले माग गरेको छ।
जानकी मन्दिरमा विद्युतीकरण एवं सौन्दर्यीकरणमा पनि करोडौंको भ्रष्टाचार भएको, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्लाहीको नाममा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको, मधेस प्रदेश सरकारद्धारा शहीद परिवारलाई वितरण गर्ने भनी ल्याइएको भैंसी वितरणमा शहीद परिवारलाई ठगेको प्रकरणमा समेत अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने जनमत पार्टीका सचिव साहले बताए ।
यद्दपी सम्बोधनको क्रममा मुख्यमन्त्री यादवले भ्रष्ट सरकारमा किन बसेको भन्दै जनमतका मन्त्रीसँग प्रश्न गरका थिए।
‘जनमत पार्टीले सरकार भ्रष्टाचार गरिरहेको आरोप लगाइरहेको छ । यदि त्यस्तो हो भने किन जनमत सरकारमा छ । सरकार छाडे भयो नी । भ्रष्ट सरकारमा किन बसेको?,’ उनले भने ।